एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) ले यस सिजनको (ड्रिम टिम) 'टिम अफ दि पीएसएल' सार्वजनिक गरेको छ ।
यस सिजनको लिग सकिए लगत्तै पीएसएलले 'टिम अफ दि पीएसएल' सार्वजनिक गरेको हो । आइतबार राति भएको फाइनलमा पेशावर जाल्मीलाई हराएर क्वेटा ग्याडिएटर्सले उपाधि जितेको थियो ।
पीएसएलले सार्वजनिक गरेको ड्रिम टिममा नेपालका सन्दीप लामिछाने १२ औं खेलाडीको रुपमा टोलीमा अटाएका छन् । सन्दीप पीएसएलको डेब्यु सिजनमै ड्रिम टिमको १२ औं खेलाडीमा परेका हुन् ।
नेपाली युवा लेग स्पिनर सन्दीपले यस सिजन लाहोर क्वालेण्डर्सबाट खेलेका थिए । सन्दीपले पीएसएलमा उत्कृष्ट बलिङ गरेपनि उनको टिम प्ले फ पुग्न असफल भएको थियो ।
सन्दीपले प्रतियोगितामा ७ खेल खेल्दै ११ विकेट लिएका थिए ।
पीएसएलले एबी डी भिलियर्सको कप्तानीमा सार्वजनिक गरेको ड्रिम टिममा शेन वाट्सन, कम्रन अकमल विकेटकिपर, केइरन पोलार्ड, वाहब रियाज, हसन अली, बाबर आजम,कोलिन इन्ग्राम, उमर अकमल, आसिफ अली र फाहिम अश्रफ रहेका छन् ।
पीएसएलले एक छनोट समिति बनाएर ड्रिम टिम घोषणा गरेको हो ।
'यस्तो काम गर्न निकै कठिन हुन्छ, विश्वका उत्कृष्ट खेलाडीबाट १२ खेलाडी छान्नु निकै गाह्रो हुन्छ । हामीलाई विश्वास छ कि यो सूची कसैले पनि नकार्नु सक्दैन । हामीले खेलाडी छनोट गर्दा पीएसएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई नै छनोट गरेका हौँ,' छनोट समितिका प्रमुख मुदसरले भने ।