एजेन्सी । अफगानिस्तानले पहिलो पटक टेष्ट क्रिकेट सिरिज जितेको छ । आयरल्याण्डविरुद्धको एक खेलको टेष्ट सिरिजमा ७ विकेटको जित निकाल्दै अफगानिस्तानले ऐतिहासिक टेष्ट सिरिज जितेको हो ।
भारतको देहरादुनस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा सोमबार आयरल्याण्डले दिएको १४७ रनको लक्ष्य अफगानिस्तानले चौथो दिन ४७ ओभर ५ बलमा मात्र ७ विकेट गुमाएर पुरा गर्यो ।
अफगानिस्तानका लागि दोस्रो इनिङ्समा रहमत साहले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा इशानउल्लाहले अविजित ६५ रन बनाए । आयरल्याण्डका एण्डी रोबर्ट र जेम्स क्यामरुन ड्रोले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले पहिलो इनिङ्समा अलआउट हुँदै १७२ रन जोडेको थियो । अफगानिस्तानले पहिलो इनिङ्समा अलआउट हुँदै ३१४ रन जोडेको थियो ।
पहिलो इनिङ्समा अफगानिस्तानका लागि रहमत साहले ९८ रनको योगदान दिएका थिए । टेष्ट क्रिकेटमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका साह २ रनले शतक बनाउन चुके । यस्तै कप्तान अस्घर अफगानले ६७ रन जोड्दा हास्मदउल्लाह साहिदीले ६१ रन बनाए ।
पहिलो इनिङ्समै अफगानिस्तानसंग पछि परेको आयरल्याण्डले दोस्रो इनिङ्समा अलआउट हुँदै २८८ रन बनाएपछि अफगानिस्तानले मध्यम लक्ष्य पाएको थियो । आयरल्याण्डका लागि एन्डी बाल्ब्रिनेले ८२ रन जोड्दा केभिन ओ ब्रुयनले ५६ रन जोडे ।
आयरल्याण्डलाई सस्तैमा रोक्न राशिद खानले ५ विकेट लिए । यस्तै मोहमद यामिनले ३ तथा वाफाडर मोमान्दले २ विकेट लिए ।
यस अघि अफगानिस्तानले भारतविरुद्धको टेष्ट सिरिज खेल्दै टेष्ट क्रिकेटमा डेब्यु गरेको थियो । भारतसंको पहिलो तथा ऐतिहासिक टेष्टमा अफगानिस्तान एक इनिङ २ सय ६२ रनले पराजित भएको थियो ।
यस्तै अफगानिस्तानले आयरल्याण्डविरुद्धको ३ खेलको टी-ट्वान्टी सिरिज ३-० र ५ खेलको एकदिवसीय सिरिज ३-१ ले जितेको थियो ।