एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नयाँ सिजन सुरु हुन केहि दिन मात्र बाँकी छ ।
आईपीएलको नयाँ सिजन सुरु हुनै लाग्दा क्रिकेट विश्लेषकहरुले आईपीएल टिमको प्रदर्शन र प्लेईङ सेटबारे विश्लेषण गर्न सुरु गरिसकेका छन् ।
यसै सन्दर्भमा भारतका प्रख्यात क्रिकेट कमेन्टेटर तथा पत्रकार हर्ष भोगलेले पनि आईपीएल टिमको प्रदर्शन र प्लेईङ सेटबारे विश्लेषण गरेका छन् ।
क्रिकेट विश्लेषक भोगलेले नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम दिल्ली क्यापिटल्सको पनि विश्लेषण गरेका छन् ।
तर, भोगलेले दोस्रो सिजन आईपीएल खेलिरहेका सन्दीपलाई दिल्लीको प्लेईङ-११ मा भने राखेका छैनन् ।
भोगलेले राखेको दिल्लीको सम्भावित प्लेईङ सेटमा शिखर धवन, पृथ्वी श, कोलिन इन्ग्राम, श्रेयस आयर, ऋशब पन्त, क्रिस मोरिस, अक्षर पटेल, अमित मिश्रा / राहुल टेवाटिया, ट्रेन्ट बोल्ट, कागीसो रबाडा, अभेस खान / इशान्त शर्मालाई राखेका छन् ।
भोगलेले सन्दीपबारे विश्लेषण गर्दै विश्वभरका लिगहरुमा आफुलाई प्रमाणित गरेका उनलाई दिल्लीको ब्याकअप टिममा राखेको छ । उनले सन्दीपलाई कुन खेलाडीको स्थानमा खेलाउने भनेर छनोट गर्न मुश्किल रहेको समेत बताए ।
तर, भोगलेले प्रतिभावान खेलाडी सन्दीप दिल्लीमा हुनु दिल्लीको लागि ब्याकअप निकै बलियो भएको र चाहेको खण्डमा पर्योग गर्ने सक्ने बताए ।
'यो वर्ष दिल्लीको टिम बलियो छ कि सबै फर्ममा रहेका प्रतिवाभान खेलाडीले भरिएको छ,' भोगलेले भने,' दिल्लीसंग लामो दुरी हिड्न सक्ने खेलाडी त छन् तर टिम कहाँसम्म बढ्न सक्छ त्यो भने हेर्न बाँकी छ ।'
गत सिजनको आईपीएलबाट टी-ट्वान्टीमा डेब्यु गरेका सन्दीपले दश महिना भित्र विश्व भरका ठुला ठुला फ्रेन्चाइज लिग खेल्दै सबैलाई प्रभावित पारि सकेका छन् । उनी हाल सम्म ३६ खेल खेल्दा ५० विकेट हात पार्न ५ विकेट पछि रहेका छन् ।
१८ बर्षे सन्दीपले गत सिजनको आईपीएलमा ३ खेल मात्र खेल्दै ५ विकेट हात पारेका थिए । जसको कारण उनलाई दिल्लीले नया सिजनका लागि रिटेन गरेको थियो ।
यस्तै भोगलेले सधै स्पिनरको कारण दिल्ली आईपीएलमा पछि पर्दै आएको तर, यस वर्ष सबै पक्षमा दिल्ली निकै बलियो रहेको बताए ।