एजेन्सी । इटालियन क्लब नेपोलीका गोलकिपर डेभिड ओस्पिना खेलकै दौरान बेहोस भएर मैदानमा ढलेका छन् ।
सिरी ए अन्तर्गत आइतबार राति उडिनेसविरुद्धको खेलमा गोलकिपर डेभिड बेहोस हुँदै मैदानमा लडेका थिए । मैदानमा बेहोस भएपछि गोलकिपर डेभिडलाई तत्काल अस्पताल लगिएको थियो ।
आर्सनलबाट लोनमा नेपोली पुगेका गोलकिपर डेभिड ४४ औं मिनेटमा बेहोस हुँदै मैदानमा ढलेका थिए ।
टाउकोमा लागेको चोटका कारण गोलकिपर डेभिड बेहोस भएको बताईएको छ । उनको अहिले होस आएको र खतरामुक्त रहेको इटालियन न्युज एजेन्सीले जनाएको छ ।
बेहोस हुनुअघि गोलकिपर डेभिडले खेलको सातौं मिनेटमा टाउकोको चोट बोकेका थिए । उडीनेसका खेलाडी पुसेट्टोसंग जुद्दा डेभिडको टाउकोमा चोट लागेको थियो । तर, डेभिड प्राथमिक उपचारपछि ब्यान्डेज बाधेर मैदान फर्किएका थिए ।
गोलकिपर डेभिड घाइते भएको खेलमा नेपोलीले उडिनेसलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।
जितसंगै दोस्रो स्थानको नेपोलीले ६० अंक जोडेको छ ।