एजेन्सी । साबिकको विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा मैन्जलाई ६-० गोलको फराकिलो जित निकाल्दै वायर्न शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा मैन्जको पोष्टमा आधा दर्जन गोल गर्ने क्रममा वायर्नका जेम्स रोड्रिगेजले ह्याट्रिक गरे । यस्तै रोबर्टो लेवान्डोस्की, कोम्यान किंग्सले र अल्फान्सो डेभिसले एक एक गोल गरे ।
खेलमा वायर्नले तेस्रो मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता बनाएको थियो । ३३ औं मिनेटमा रोड्रिगेजले गोल गर्दै अग्रता २-० को बनाए । ३९ औं मिनेटमा कोम्यानले गोल गर्दै वायर्नको अग्रता ३-० को बनाए ।
खेलको ५१ औं मिनेटमा रोड्रिगेजले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता ४-० को बनाए । त्यसको चार मिनेट पछि रोड्रिगेजले गोल गर्दै ह्याट्रिक पुरा गर्दा वायर्न ५-० ले अघि रह्यो । त्यसपछि खेलको ७० औं मिनेटमा डेभिसले गोलगरेपछि वायर्नले ६-० को जित निकाल्यो ।
जितसंगै शीर्ष स्थानमा फर्किएको वायर्नले २६ खेलबाट ६० अंक जोडेको छ । र, दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई गोल अन्तरमा पछि बनाएर वायर्न शीर्ष स्थानमा उक्लिएको छ । डर्टमण्डको पनि समान खेलबाट समान ६० अंक छ ।