एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरीस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मार्सेइलीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारियाले २ गोल गरे । यस्तै केलियन एमबाप्पेले एक गोल फर्काए । मार्सेइलीका भालेरे जर्मेइनले एक एक गोल गरे ।
पहिलो हाफको ४५ औं एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४६ औं मिनेटमा जर्मेइनले गोल गर्दै मार्सेइलीलाई खेलमा फर्काए ।
तर, त्यसपछि खेलमा नायक बने डी मारिया । खेलको ५५ औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । यस्तै खेलको ६६ औं मिनेटमा डी मारिया ३० यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए ।
त्यसअघि खेलको ६२ औं मिनेटमा स्टिभ मण्डडाण्डले रातो कार्ड पाएपछि मार्सेइली १० खेलाडीमा समेटिएको थियो ।
यस्तै खेलको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार मार्सेइलीका किपर योहान पेलेले बचाए ।
जितसंगै पीएसजीले लिगमा २० अंकको अग्रता बनाएको छ । पीएसजीले २८ खेलबाट ७७ अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ५७ अंक छ ।
मार्सेइली ४७ अंक जोडेर चौथो स्थानमा छ ।