एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटीसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल बेटीसको मैदानमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो । यस्तै बार्सिलोनाका लागि थप गोल लुइस स्वारेजले गरे । रियल बेटीसका लोरेन मोरोनले एक गोल फर्काए ।
पहिलो हाफको १८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ४५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बनाए ।
खेलको ६३ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । खेलको ८२ औं मिनेटमा घरेलु टोलीका मोरोनले एक गोल गर्दै खेल ३-१ को बनाए । तर, खेलको ८५ औं मिनेटमा मेस्सीले ह्याट्रिक गोल गर्दै बार्सिलोनालाई ४-१ को जित दिलाए ।
योसंगै मेस्सीले ला लिगामा ३३ औं ह्याट्रिक पुरा गरे ।
जितसंगै बार्सिलोनाले लिगमा १० अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ ।
दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ । पराजित रियल बेटीस ३९ अंकसहित आठौं स्थानमा रहेको छ ।