इलाम । 'ए' डिभिजन क्लब हिमालयन शेर्पा इलाममा जारी माई भ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा मेची नेत्रालय ट्रेनिङ सेन्टरलाई ३–० गोल अन्तरले पराजित गर्याे ।
शेर्पाको जितमा त्रिदेव गुरुङ, रवि थापा र विशन गुरुङले एक एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको शेर्पाले दोस्रो हाफमा दुई गोल गर्न सफल रह्यो ।
पहिलो हाफको इन्जुरी समयमा त्रिदेवले गोल गर्दै शेर्पालाई सुरुवाती अग्रता दिलाए । खेलको ६१ औं मिनेटमा रविले गोल गर्दै शेर्पाको अग्रता २-० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा विशनले गोल गर्दै शेर्पालाई ३-० जित दिलाए ।
खेलमा म्यान अफ दि म्यान हिमालयन शेर्पा क्लबका गोलरक्षक किशोर गिरी चुनिए । उनले नगद १० हजार प्राप्त गरे ।
अब शेर्पाले फाइनलमा क्यामरुनको दाउफिन्सको सामना गर्नेछ ।