एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको युभेन्ट्स पराजित भएको छ । आइतबार भएको खेलमा युभेन्ट्स जिनोआसंग २-० ले पराजित भएको हो ।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल खादै हार व्यहोरेको हो । रोनाल्डोलाई यस खेलमा आराम दिइएको थियो ।
जिनोआलाई जित दिलाउन स्टेफानो स्टुरारो र गोरन पानडेभले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७२ औं मिनेटमा स्टेफानोले गोल गर्दै जिनोआलाई अग्रता दिलाए । त्यसपछि ८१ औं मिनेटमा पानडेभले गोल गर्दै जिनोआलाई २-० को जित दिलाए ।
जिनोआसंग पराजित भएपनि युभेन्ट्स लिगको शीर्ष स्थानमा यथावत रहेको छ । युभेन्ट्सले २८ खेलबाट ७५ अंक जोडेको छ ।
जितसंगै जिनोआले २८ खेलबाट ३३ अंक जोडेको छ । जिनोआ लिगको १२ औं स्थानमा छ ।