विराटनगर । श्रीलंकाका मुख्य प्रशिक्षक तिलक रोहण अल्पोन्सुले महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपालविरुद्धको सेमिफाइनलमा आक्रामक खेल पस्कने बताएका छन् ।
विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलपछि बोल्दै प्रशिक्षक अल्पोन्सुले नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्य रहेको बताए ।
'भारतसंगको खेलमा हामीले अनुभवको रुपमा लिने कोशिश गरेका हौँ । हामीले नेपालविरुद्ध आक्रामक खेल्ने प्रयास गर्ने छौं,' प्रशिक्षक अल्पोन्सुले भने ।
सहिद रंगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंका भारतसंग ५-० ले पराजित भएको थियो । तर, श्रीलंका समूह 'बी' बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
यस्तै प्रशिक्षक अल्पोन्सुले भारत बलियो र निकै अनुभवी टोली रहेको कारण हार व्यहोर्नु परेको बताए ।
श्रीलंकाले बुधबार हुने पहिलो सेमिफाइनलमा नेपालको सामना गर्नेछ । नेपाल समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।
यस्तै भारतका मुख्य प्रशिक्षक म्यामोल रकीले नेपालबारे फाइनल पुगेर मात्र सोच्ने बताए ।
'खेलाडीहरुले राम्रो खेल खेले । म खुसी छु । हामीले राम्रो ५ अवसरलाई गोलमा परिणत गर्न सक्यौं । बंगलादेश राम्रो टिम हो र हामी त्यसको लागि तयार छौं,' प्रशिक्षक रकीले भने, 'हामीले नेपालको बारेमा सोचेका छैनौं । पहिले हामी फाइनल पुग्न चाहान्छौं त्यसपछि पक्कै सोच्ने छौं ।'
बुधबार हुने दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशसंग खेल्नेछ ।