विराटनगर । साविकको विजेता भारत समूह विजेता बन्दै महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ५-० गोल अन्तरले पराजित गर्दै भारत समूह विजेता बनेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा श्रीलंकाविरुद्धको फराकिलो जितसंगै भारत समूह 'बी' मा ६ अंक जोडेर समूह विजेता बनेको हो । पराजित श्रीलंका ३ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
अब भारतले सेमिफाइनलमा बंगलादेशसंग खेल्नेछ । बंगलादेश समूह 'ए' को उपविजेता हो । यस्तै श्रीलंकाले समूह 'ए' को विजेता नेपालसंग खेल्नेछ ।
श्रीलंकाविरुद्ध एकतर्फी जित निकाल्न भारतका लागि दाङमेई ग्रेस,सन्ध्या रंगनाथन, इन्दुमति खाथिरीसान,संगिता बास्फोरे र रतन बाला देवीले एक एक गोल गरिन् ।
भारतले पहिलो हाफमै ४ गोल गरेको थियो । पहिलो हाफको तेस्राे मिनेटमै सन्ध्या रंगनाथनको प्रहार क्रसबारमा लागेर फर्किएकाे बललाई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् ।
खेलको सातौं मिनेटमा सन्जु यादवकाे पासमा सन्ध्याले गाेल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।
खेलको ३६ औं मिनेटमा इन्दुमतिले गाेल गर्दा भारत ३-० ले अघि रह्यो । खेलको ४५ औं मिनेटमा संगिताले पेनाल्टीमा गाेल गर्दै पहिलो हाफमा भारतलाई ४-० को अग्रता दिलाईन् ।
दोस्रो हाफमा भारतले एक गोल थप्यो । खेलको ४७ औं मिनेटमा बाला देवीले गोल गरेपछि भारतले ५-० को जित निकाल्यो ।
सेमिफाइनल अब ६ गते हुनेछ । पहिलो खेलमा नेपालले श्रीलंकासंग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा तिन बजे भारतले बंगलादेशसंग खेल्नेछ ।