एजेन्सी । पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरले अष्ट्रेलियाका खेलाडी र क्रिकेट प्रतिनिधिसंग भेट गरेका छन् ।
एक बर्षे निलम्बनबाट फुकुवा हुनै लाग्दा स्मिथ र वार्नरले युएईको दुबईमा आइतबार राष्ट्रिय टोलीका खेलाडी र प्रतिनिधिसंग भेट गरेका हुन् ।
बल टेम्परिङको आरोपमा अहिले स्मिथ र वार्नर निलम्बनमा रहेका छन् । दुवैको निलम्बन फुकुवा यहि मार्च २८ बाट हुँदैछ ।
अष्ट्रेलियाको टिम पाकिस्तानविरुद्धको ५ खेलको एकदिवसीय सिरिज खेल्न दुबईमा रहेका बेला स्मिथ र वार्नरले भेट गरेका हुन् । गत साता मात्र अष्ट्रेलियाले टी-ट्वान्टी र एकदिवसीय सिरिज जितेको थियो ।
विश्वकप नजिकिदै गर्दा स्मिथ र वार्नरको भेट महत्वपूर्ण मानिएको छ ।
'आफ्नो साथीहरुसंग लामो समय पछि भेट गर्दा निकै रमाइलो लाग्यो । उनीहरुले हामीलाई टिममा स्वागत गर्न तयार भएर बसेका रहेछन र लाग्यो कि हामी कहिल्यै टिमबाट बाहिर थिएनौं,' भेटपछि स्मिथले भने ।
पाकिस्तानसंगको सिरिजअघि नै दुवैको निलम्बन फुकुवा हुनेछ । तर, उनीहरुको चोट तथा इन्डियन प्रिमियर (आइपीएल) को कारण देखाउँदै सिरिजका लागि दुवैलाई टोलीमा राखिएको थिएन् ।
विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न उनीहरुका लागि आईपीएल एक मात्र माध्यम हो । यद्दपी उनीहरु विश्वकप अघि हुने अष्ट्रेलियाको क्याम्पमा सहभागी हुने छन् ।
'मलाई लाग्यो मैले टिम छाडेको नै छैन्, भेट निकै उत्कृष्ट रहयो । साथीहरुले न्यानो माया सहित अँगालो हाल्दै मलाई स्वागत गर्दा हाम्रो पुनरागमनको प्रतिक्षामा रहेको थाहा पाए,' वार्नरले भने, 'भारतविरुद्धको सिरिजबाट उनीहरुको आत्मविश्वास निकै बढेको छ ।'
यस्तै प्रशिक्षक जस्टिन ल्यांगरले दुई खेलाडी टोलीमा फर्किएकोमा खुसी रहेको र वार्ता सकारात्मक बनेको बताए ।
'उनीहरुलाई टिममा फिर्ता भएको हेर्दा निकै खुसी छु । लाग्छ दुई दाजुभाई घर फर्किदै छन्,' प्रशिक्षक ल्यांगरले भने, 'दाजुभाई केहि समस्याले परिवारबाट टाढा गएका थिए र अहिले फर्किंदै छन् । हामीले हिजोको रात रमाइलो गर्दै बितायौं र सकारात्मक वार्ता भएको छ ।'
प्रशिक्षक ल्यांगरले दुवै खेलाडीमा राष्ट्रको लागि खेल्ने भोक बाँकी रहेको बताए ।
'उनीहरुले एक बर्ष निकै गार्हो गर्दै समय बिताएका छन् । उनीहरु उत्साहित छन् किनकि उनीहरुमा राम्रो खेल्ने भोक र राष्ट्रका लागि रन बनाउने क्षमता पनि छ । यदि तपाई प्रशिक्षक हुनुहुन्छ र तपाईसंग यस्ता अनुभवी र धेरै रन बनाउन सक्ने खेलाडी छन् भने तपाई आफ्नो टिममा फर्काउन निकै आतुर हुनु हुनेछ,' प्रशिक्षक ल्यांगरले थपे ।