एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड एफए कप फुटबलबाट बाहिरिएको छ ।
शनिबार राति भएको क्वाटरफाइनलमा वुल्भ्ससंग २-१ गोल अन्तर हुँदै युनाईटेड प्रतियोगिताबाट बाहिरिएको हो ।
घरेलु मैदानमा वुल्भ्सलाई जित दिलाउन राउल जेमिनेज र डिओगो जोताले एक एक गोल गरे । युनाईटेडका मार्कुस राष्फोर्डले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा जेमिनेजले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाए । ७६ औं मिनेटमा जोताले गोल गर्दै वुल्भ्सको अग्रता २-० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा युनाईटेडका राष्फोर्डले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।
योसंगै वुल्भ्स २१ वर्षपछि पहिलो पटक एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि वुल्भ्स सन् १९९७/९८ को सिजन सेमिफाइनल पुगेको थियो ।