एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले वर्नलीलाई पराजित गरेको छ । वर्नलीको घरेलु मैदानमा भएको खेलमा लेस्टर २–१ गोल अन्तरले विजयी भएको हो ।
वेस मोर्गानले खेलको अन्तिम मिनेटमा गोल गर्दै लेस्टरलाई नाटकिय जित दिलाए । सोही गोल रेलिगेशनको डरबाट गुज्रिरहेको बर्नलीको घाउ बल्झाउन पर्याप्त बन्यो ।
हारपछि वर्नली ३१ खेलबाट ३० अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि १७ अै स्थानमा छ । कार्डिफ २८ अंक सहित रेलिगेशन जोनमा छ ।
खेलको चौथो मिनेटमा ह्यारी मगुईरे रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली लेस्टर १० खेलाडीमा सिमित बनेको थियो । तर खेलमा अग्रता भने उसैले लिएको थियो ।
३३ औ मिनेटमा जेम्स म्याडिसनले फ्रिकिकमा गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औ मिनेटमा घरेलु टोलीका ड्वाइट म्याकनिलले खेल बराबरीमा ल्याएका थिए ।
विजेता लेस्टर तालिकामा सुधार गर्दै ४१ अंक सहित दशौं स्थानमा उक्लिएको छ ।