धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको उपाधिका लागि सुदुरपश्चिम र प्रदेश १ भिड्ने भएका छन् । शनिबार भएको सेमिफाईनलमा जित हात पार्दै दुवै टोली फाइनल पुगेका हुन् ।
धनगढी रंगशाला भएको पहिलो सेमिफाईनलमा सुदुरपश्चिमले प्रदेश २ लाई टाईब्रेकरमा ४–१ ले हरायो । निर्धारित समय गोल रहित बराबरी भएपछि खेल टाईब्रेकरमा गएको थियो ।
टाईब्रेकरमा सुदुरका राकेश हमाल,नरेन्द्र चौधरी, भागेन्द्र चौधरी र सन्दीप कुँवरले गोल गरे । प्रदेश २ का लागि साने चौधरीको मात्रै गोल भयो । सनिल लामाको प्रहार बाहिरिदा देवेन्द्र चौधरीको प्रहारलाई सुपका गोलरक्षक टेकेन्द्र थापाले रोके ।
दोस्रो सेमिफाईनलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १–० ले हराएर फाईनल पुग्यो । एक मात्रै निर्णायक गोल दिपेन्द्र घिसिङ तामाङले गरे ।
सेमिफाईनलमा पराजित कर्णाली प्रदेश र प्रदेश २ ले तेस्रो स्थानका लागि खेल्नेछन ।