नमीन ढकाल
इलाम । विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै क्यामरुनी टोली दाफिन्स फेमेली क्लब माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाईनलमा दाफिन्सले पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको १७ मिनेटमा टीना टीनाको गोलबाट दाफिन्सले अग्रता लिएको थियो । पुलिसका अञ्जन राईले दाउफिन्सका पेटाङ्गालाई डि बक्स नजिकै फाउल गरेपछि पाएको अवसर टीनाले गोल गरेका थिए ।
खेलको ७१ औ मिनेटमा पुलिसका भरत शाहले डिबक्स भित्रको बल क्लियर गर्न नसक्दा आन्डा इसाइले दाउफिन्सको अग्रता दोव्वर बनाएका थिए ।
खेलपछि प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले रेफ्रीको पक्षपात निर्णय गरेको कारण पराजित भएको बताए । उनले ३० यार्ड बक्स नजिकै नभएको फाउल दिनु नै खेलको टर्निङ पोइन्ट भएको बताए ।
‘शारिरिक रुपमा बलिया खेलाडीविरुद्ध कडा प्रतिस्पर्धा भएको हो । रेफ्री श्याम दनुवारले बारम्बार गलत निर्णय दिँदा हामी पराजित भयौ ।’ उनले भने ‘पेनाल्टी एरियामा निरकुमार राईले पाएको अवसर सदुपयोग हुन सकेको भए हामीले खेल जित्ने थियौ ।’
यता दाफिन्सका टिम मेनेजर आशिक थापा मगरले पुलिसको टिम सेट भए पनि आफनो टिमले अपेक्षा अनुरुपको नतिजा निकालेको बताए । उनले इलाममा अघिल्लो खेल भन्दा पुलिसविरुद्ध दाफिन्सले सुधारिएको खेल देखाएको बताए ।
समयमा नै गोल निस्किएकोले पुलिस विरुद्ध पछिल्लो नतिजा भन्दा राम्रो जित निकालेको मगरले बताए ।
दोस्रो सेमीफाइनल खेल हिमालयन शेर्पा र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ । विजेताले दाफिन्सले चैत्र ५ गते उपाधिकालागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ ।