विराटनगर । नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक हरी खड्काले बंगलादेशविरुद्व खेलको रणनीति सफल भएको बताएका छन् । समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेपछि पत्रकारसंग कुराकानी गर्दै उनले सुरुवाती १५ मिनेटमा गोल गर्ने रणनीति सफल भएको बताए ।
नेपालले खेलको छैटौ मिनेटमा आत्मघाति गोलमार्फत खेलमा अग्रता लिएको थियो ।
'रणनीति अनुसारनै खेल भयौ । पहिलो १५ मिनेटमा गोल गर्ने लक्ष्य पुरा भयो ।' उनले भने, 'खेलाडीले धेरै मेहनत गरे । पुरा ९० मिनेट हामीले राम्रो खेल्यौ । दोस्रो हाफमा राम्रो अवसर सिर्जना गरेपनि गोल गर्न सकिएन ।'
उनले जितको सम्पुर्ण श्रेय खेलाडीलाई दिए ।
'दोस्रो हाफमा रफ्तार अलि कम भयो । हामीले निकै राम्रो खेल्यौ । खेलाडीले निर्देशन अनुसार डटेर खेले । बंगलादेशले समेत राम्रो खेल्यो ।' उनले थपे ।
प्रशिक्षक खड्काले भारत र श्रीलंकाबीचको खेल हेरेर सेमिफाईनलको रणनीति तयार गर्ने बताए । आफ्नो ध्यान सेमिफाईनलमा मात्र केन्द्रित रहेको बताउँदै उनले भोलीले खेल हेरेर आवश्यक रणनीति अख्तियार गर्ने उल्लेख गरे ।
प्रशिक्षक खड्काले फरवार्ड सावित्रा भण्डारीको समेत खुलेर प्रशंसा गरे । सावित्राले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि नेपालले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो ।
'उनी दक्षिण एसियाकै उत्कृष्ट फुटबलर हुन् । सावित्रा टिमको मुख्य खेलाडी हुन् ।' उनले थपे ।