विराटनगर । साफ च्याम्पियनसिप फुटबलमा नेपालले समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको खेलमा बंगलादेशलाई ३–० ले हराउँदै नेपाल समुह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो ।
समुह एमा नेपालले दुई खेलबाट ६ अंक जोड्यो र समुह विजेता बन्यो । पराजित बंगलादेश उपविजेतामै सिमित बन्यो । दुवै टोली एक खेल अगावै प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरिसकेका थिए । समुह चरणका दुवै खेलमा पराजित हुदै भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ ।
नेपालको जितमा सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक-एक गोल गरे । अर्को एक गोल नेपालले आत्मघाति रुपमा उपहार पाएको थियो ।
दोस्रो खेलमा सुधारिएको प्रर्दशन गर्दै नेपालले बंगलादेशविरुद्व सहज जित निकालेको हो । सुरुवातबाटै आक्रमक देखिएको नेपालले तीनवटै गोल पहिलो हाफमा गर्यो ।नेपालले गरेको दुवै गोलमा फरवार्ड सावित्रा निर्णायक देखिईन् ।
उनले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरि दिईन् । नेपालले अग्रता भने आत्मघाति गोलबाट लिएको थियो । छैटौ मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको हेड बलले पोस्टको दिशा लिएपछि नेपालले अग्रता बनाएकाे थियो ।
२३ औ मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । मैदानको बाँया भागबाट एक्लै बल अघि बढाउँदै गोलकिपरलाई समेत विट गरेर सावित्रा गोल गर्न सफल भईन् । निरन्तर आक्रमण बुनेको नेपालले २८ औ मिनेटमा ३–० को अग्रता लियो । सावित्राको लामो पासमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को स्थितीमा पु¥याएकी थिईन् ।
डिफेन्स, मिडफिल्डर र फरवार्ड लाईनमा सुधारिएको खेल प्रर्दशन गरेको नेपालले दोस्रो हाफमा भने गोल थप्न सकेन । नेपालको सिर्जना गरेको निश्चित गोलका अवसरमा बंगलादेशका डिफेन्डर र गोलकिपर बाधक बने ।
पुजा रानाको डेब्यु ।
पुजा रानाले महिला राष्ट्रिय फुटबल टिमबाट डेब्यु गरिन् । उनले बंगलादेशविरुद्वको खेलमा डेब्यु गरेकी हुन् । दोस्रो हाफको खेलमा उनी मनमायाको लिम्बुको स्थानमा मैदान छिरिन् । यु–१९ टिमको मुख्य सदस्य पुजा घरेलु फुटबलमा विभागीय टिम आर्मीकी डिफेन्डर हुन् ।
समुह चरणको अन्तिम खेलमा भोली भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले आगामी बुधबार बिहान ११ बजे समुह बीको उपविजेतासंग सेमिफाईनलमा प्रतिस्पर्धा गर्नेछ ।