काठमाडौं । कुवेतविरुद्धको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहने भएको छ ।
मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसंगको खेलका लागि छनोट गरेको २३ सदसीय नेपाली टोलीमा नयाँ खेलाडीको बाहुल्यता देखिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको औपचारिक घोषणा गरेको छैन । तर, एन्फाले क्याम्पमा बोलाएको २३ खेलाडीको सूचीमा धेरै नयाँ खेलाडीले स्थान बनाएका छन् । एन्फाले २३ टोलीलाई नै कुवेत पठाउने छ ।
नेपाली टोलीका नियमित सदस्यहरु एएफसी यू-२३ च्याम्पियनसिपको छनोट टोलीमा रहेका कारण राष्ट्रिय टोलीमा धेरै नयाँ खेलाडीले स्थान बनाएका हुन् ।
राष्ट्रिय टिमका नियमित सदस्य सुनिल बल, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुमन अर्याल, हेमन्त थापा मगर र तेज तामाङ यू-२३ टोलीमा रहेका छन् ।
यस्तै नेपाली टोलीका नियमित सदस्य रोहित चन्द हुने छैनन् । रोहित क्लब फुटबलका लागि इन्डोनेसियामा रहेका छन् ।
उनीहरुको स्थानमा लिगमा गरेको प्रर्दशन र मोफसलमा गरेका प्रर्दशनका आधारमा अन्य खेलाडी छनोट गरिएको छ ।
टोलीमा लिग च्याम्पियन्स मनाङ मर्स्याङ्दीबाट ७ , त्रिभुवन आर्मीबाट ५ जना, थ्री स्टारबाट ३ , पुलिसबाट ३, संकटाबाट २ तथा एपीएफ र च्यासलबाट समान १/१ खेलाडी परेका छन् ।
नेपालले मार्च २१ मा कुवेतको राष्ट्रिय टोलीसंग उसैको मैदानमा मैत्रीपुर्ण खेल खेल्नेछ । नेपाली टोली २० मार्चमा कुवेत जानेछ ।
नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ, विकेट कुथु (आर्मी) र विशाल श्रेष्ठ (मनाङ)
डिफेन्डर : अजित भण्डारी (पुलिस), रवि सिलवाल (संकटा), सुरज विश्वकर्मा (मनाङ), रञ्जित धिमाल (थ्री स्टार), विराज महर्जन (मनाङ), सरोज दाहाल (संकटा), देबेन्द्र तामाङ (च्यासल)
मिडफिल्डर : रवि पासवान (पुलिस), टंक बस्नेत (आर्मी), सन्तोष तामाङ (आर्मी), बिक्रम लामा (थ्री स्टार), बिशाल राई (मनाङ), हेमन गुरुङ (मनाङ), सुजल श्रेष्ठ (मनाङ)
फरवार्ड : रन्जन विष्ट (थ्री स्टार), सुमन लामा (पुलिस), भरत खवास (आर्मी), विमल राना (मनाङ), नवयुग श्रेष्ठ (आर्मी), आशिष लामा (एपीएफ)