विराटनगर । शनिबार सहिद रंशगालामा उत्रदै गर्दा नेपाल र बंगलादेशको स्पष्ट लक्ष्य हुनेछ, सेमिफाईनलमा भारतको चुनौतीलाई टार्नु ।
एक खेल अगावै सेमिफाईनल पुगेका नेपाल र बंगलादेश दबाब मुक्त त छन् । तर समुह विजेता बन्दै दुवै टोली सेमिफाईनलमा भारतविरुद्वको खेल टार्न चाहन्छन् ।
साफ च्याम्पियनसिपको ईतिहासमा दुवै टोली पहिलो पटक समुह चरणमा भिड्न लागेका हुन् ।
सुरुवाती संस्करणमा नेपालले दुई पटक मात्र सेमिफाईनलमा बंगलादेशसंग प्रतिस्पर्धा गरेको थियो । तीन वटै भेटमा नतिजा नेपालको पक्षमा गएको थियो ।
शनिबार सहिद रंगशालमा उत्रदै गर्दा नेपाली टिम एउटै ध्याउन्न हुनेछ, विगतको नजिता आत्मसाथ गर्ने ।
तर बंगलादेश भने नेपालको गर्विलो विरासतमाथि धावा बोल्ने प्रयास गर्नेछ ।
बुझ्नु पर्ने तथ्य भनेको बंगलादेश दक्षिण एसियाली महिला फुटबलमा उदाउँदो शक्ति हो । त्यसैले बलियो प्रतिद्वन्दीविरुद्व मैदान उत्रदै गर्दा नेपाली टिमको वास्तविक परिक्षणको साक्षी विराटनगरको सहिद रंगशाला बन्नेछ ।
नेपाली टिमका मुख्य प्रशिक्षक हरी खड्का समेत मान्छन्, बंगलादेश साफको उदाउँदो शक्ति हो । तर उनको दाबी छ, नेपाल महिला फुटबलमा दक्षिण एसियाको स्थापित शक्ति बनेको छ ।
एक हिसावमा शनिबारको भिडन्तमा साफको स्थापित शक्ति नेपालको परिक्षण उदाउँदो शक्ति बंगलादेशले गर्नेछ ।
दुवै टोलीले समुह चरणमा पहिलो प्रतिद्वन्दीको रुपमा भुटानसंग प्रतिस्पर्धा गरेका थिए । दुवैले सहज जित निकाले तर दुवै टिम प्राप्त जितबाट सन्तुष्ट भने छैनन् ।
पहिलो खेल अवश्यनै सबै टिमका लागि कठिन हुन्छ तर भुटानविरुद्व नेपाल र बंगलादेशले पर्याप्त अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
निरन्तर दबाबमा राखेपनि गोल निकाल्न नसक्नुको कारण दुवै टिमले फेला पारेको हुनुपर्छ ।
समुह विजेता बन्ने लक्ष्य राखेका नेपाली टिमका प्रशिक्षक खड्का बंगलादेशविरुद्व आक्रमक फुटबल खेल्ने बताउँछन् । दक्षिण एसियाको बलियो फरवार्ड लाईन आफुसंग भएको दाबी गर्ने खड्का भुटानविरुद्व देखिएको कमजोरी बंगलादेशसंगको खेलमा सच्चिने उल्लेख गर्छन् ।
एक हिसावमा बंगलादेशविरुद्व उत्रदै गर्दा नेपाली टिमको डिफेन्स लाईनको समेत वास्तविक परिक्षण हुनेछ । पहिलो खेलमा भुटानविरुद्व नेपाली रक्षापङ्तीले खासै मेहेनत गर्नुपरेको थिएन ।
तर कप्तान तथा स्ट्राईकर सविना खातुन प्रेरित बंगलादेशको फरवार्ड लाईनले नेपाली रक्षापङ्तीको वास्तविक परिक्षण लिनेछ । त्यसैले हिरा भुजेल, गिता राना, अमृता जैसी र मनमाया लिम्बुको डिफेन्स लाईनलाई बंगलादेशले चुनौती दिने प्रयास गर्नेछ ।
नेपाली टिमका प्रशिक्षक खड्काको अर्को चुनौती भनेको फरवार्ड लाईनको क्षमतालाई मैदानमा निकाल्नु हुनेछ । पहिलो खेलमा पर्याप्त अवसर पाउँदा समेत नेपालबाट गोल निस्कन सकेको थिएन । फरवार्डमा सावित्रा भण्डारी र निरु थापा आफैमा बढी केन्द्रित देखिएका थिए । त्यसको असर नेपालको नतिजामा देखिएको थियो ।
‘नेपालको फरवार्ड लाईन दक्षिण एसियाकै उत्कृष्ट छ । तिनीहरुले आफ्नो क्षमता अनुसार खेलमा टिमलाई पुग्नेछ ।’ खड्काले खेलको अघिल्लो दिन पत्रकारमाझ भने ।
नेपाली टिमकी कप्तान निरु थापा समेत बंगलादेशविरुद्व सुधारिएको खेल प्रर्दशन गर्ने बताउँछिन् ।
‘डिफेन्स, मिडफिल्ड र फरवार्ड लगायत सबै पक्ष राम्रो छ । भुटानसंगको खेलमा देखिएको कमजोरी बंगलादेशविरुद्व सच्चिनेछ ।’ उनले भनिन् ।
समुह चरणमा एक खेल मात्र खेलेका नेपाल र बंगलादेशको समान ३ अंक छ । गोल अन्तरका आधारमा नेपाल शीर्ष स्थानमा छ । सोही कारण नेपाललाई समुह विजेता बन्न बराबरीको नतिजानै पर्याप्त छ ।
नेपाल भर्सेस बंगलादेश (हेड टु हेड) :
सन् २०१० मा बंगलादेशमा भएको साफ : नेपाल ३-० बंगलादेश (सेमिफाईनल)
सन् २०१४ मा पाकिस्तानमा भएको साफ : नेपाल १-० बंगलादेश (सेमिफाईनल)