नमीन ढकाल
इलाम । मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको जितसंगै इलाममा जारी माईभ्याली गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । काँकडभिट्टाले बिभागीय टिम त्रिभुवन आर्मी क्लबलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेसंगै सेमिफाइनल समिकरण पुरा भएको हो ।
अन्तिम क्वाटरफाईनलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी पराजित बन्यो । खेलको ५७ औ मिनेटमा आर्मीले अग्रता कायम गरेको थियो । जितेन्द्र कार्कीले ३० यार्ड वक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लागेर जाली चुमेपछि आर्मीले अग्रता बनाएको हो ।
८५ औ मिनेटमा योगेश गुरुङको फ्रिकिकमा विकाश थुलुङ राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । निर्धारित र अतिरिक्त समयको खेल बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।
टाइव्रेकरमा झापाका विक्रम लिम्बु, योगेश गुरुङ, मिलन राई र विशाल राईले गोल गरे भने भिक्टर एमोवीको प्रहार गोलरक्षक विवश चौधरीले रोकेका थिए ।
आर्मीका रुपेश क्षेत्री, विकास तामाङ र दिपकुमार लामाको प्रहारले जाली चुम्दा युद्ध शाही र विवेक बस्नेतको प्रहार गोलरक्षक दिनेश थापा मगरले बचाएका थिए ।
टाइव्रेकरमा जित दिलाएका गोलरक्षक थापा म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
शनिवार पहिलो सेमिफाईनलमा क्यामरुनी टोली दाफिन्सले विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ । आर्मीलाई हराएको काँकडभिट्टाले फाइनल प्रवेशका लागी हिमालयन शेर्पाको सामना गर्नेछ ।