विराटनगर । साफ च्याम्पियनसिप फुटबलमा श्रीलंका र भारत सेमिफाईनलमा प्रवेश गरेका छन् । विराटनगरको सहिद रंगशालामा श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गरेसंगै समुह बीबाट सेमिफाईनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो ।
समुह चरणका दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समुह विजेता टोलीको टुङ्गो भने आगामी आईतबार लाग्नेछ ।
समुह चरणको अन्तिम खेलमा आगामी आईतबार भारत र श्रीलंका भिड्नेछन् ।
बुधबार भएको खेममा श्रीलंकालाई जित दिलाउन चलानीकुमारी इकानायाकेले दुवै गोल गरिन् ।
श्रीलंकाले खेलमा अग्रता ४० औ मिनेटमा चालानीकुमारी इकानायाकेको गोलबाट लिएकाे थियो । फ्रिकिकमा आएको बल माल्दिभ्सकी गोलकिपरले नियन्त्रणमा लिन नसक्दा रिबान्ड बलमा चलानीले गोल गरेकी थिईन् ।
चलानीले ५० औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै श्रीलंकाकाे जित सुनिश्चित गरिन् । अचला सञ्जिवनी पेरेराले दिएको क्रसलाई डिबक्सभित्र रहेकी चलानीले उत्कृष्ट ढङ्गले गोलमा परिणत गरेकी थिईन् ।
सुरुवातबाटै माल्दिभ्सलाई दबाबमा राखेको श्रीलंकाले पहिलो आक्रमण खेलकाे १० औ मिनेटमा बुनेको थियो ।
कप्तान इरान्दी के लियाङ्गीले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले उत्कृष्ट बचाउन गरेकी थिईन् ।
२३ औ मिनेटमा श्रीलंकाले कप्तान ईरान्दी 'वान भर्सेस वान'मा चुकिन् । मैदानको मध्यभागबाट पाएको लामो पासमा उनीको प्रहार पोस्ट माथिबाट आकासिएको थियो ।
जितपछि श्रीलंकाका प्रशिक्षक रोहन थिलन अल्पोन्सुले एक खेल अगावै सेमिफाईनलमा पुग्दा खुसी लागेको प्रतिक्रिया दिए । ‘नतिजाबाट निकै खुसी छु । अब भारतसंग जित्नका लागि खेल्ने छौ ।’ उनले भने ।
पराजित टोली माल्दिभ्सका प्रशिक्षक अतिफ मोहम्मदले मुख्य तीन खेलाडी नहुदाँ श्रीलंकाविरुद्व खेल्न समस्या परेको बताए । मुख्य तीन खेलाडी नहुदाँ गाह्रो भयो । समयमै तयारी अघि बढाउन नसक्दा प्रतियोगितामा अगाडी बढ्न सकेनौ । उनले थपे ।