एजेन्सी । पोर्चुगलका फुटबल एजेण्ट जोर्गे मेन्डिसले स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युभेन्ट्समा इतिहास रच्ने बताएका छन् ।
रोनाल्डोको एजेण्ट समेत रहेका मेन्डिसले ३४ वर्षीय रोनाल्डो सर्वकालीन उत्कृष्ट फुटबल खेलाडी रहेको कारण युभेन्ट्समा इतिहास बनाउन सफल हुने बताए ।
‘उनी इतिहासकै उत्कृष्ट खेलाडी हुन् र यो कुरा एट्लेटिको मड्रिडविरुद्धको खेलमा प्रमाणित गरिसके,' मेन्डिसले भने, ‘उनी ‘एलियन’ हुन् । उनले इंग्ल्यान्ड र स्पेनमा फरक पहिचान बनाए र इटालीमा पनि बनाउने छन् ।’
रोनाल्डोले यस सिजन च्याम्पियन्स लिगमा ४ गोल र इटालियन सिरी 'ए' मा १९ गोल गरिसकेका छन् ।
रोनाल्डोले पाँच च्याम्पियन्स लिग उपाधिमा ४ पटक रियल मड्रिडबाट जितेका थिए । उनले युभेन्ट्सलाई पनि क्वाटरफाइनलसम्मको यात्रा तय गराईसकेका छन् ।
एजेण्ट मेन्डिसले रोनाल्डोबिनाको रियल मड्रिडले खराब प्रदर्शन गरिरहेको बताउदै रोनाल्डोसंग नेतृत्व गर्न सक्ने क्षमता रहेको बताए ।
‘उनी बिना रियल मड्रिडले केहि जितेको छैन । उनी प्रमुख थिए र रियल मड्रिडको इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन्,’ मेन्डिसले थपे, ‘म यो कुरामा विश्वस्त छु । इटालीमा पनि उनले फरक गर्नेछन् । उनले युभेन्ट्समा इतिहास बनाउनेछन्।’