एजेन्सी । घरेलु टोली न्युजिल्याण्ड र बंगलादेशबीच शनिबार सुरु हुने तेस्रो टेष्ट क्रिकेट रद्द भएको छ ।
न्युजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा शुक्रबार आतंकवादी हमला भएपछि तेस्रो टेष्ट क्रिकेट रद्द गरिएको हो ।
बंगलादेश र न्युजिल्याण्डबीचको तेस्रो टेष्ट हुने स्थान क्राइस्टचर्चमा हमला भएपछि दुवै बोर्डले खेल रद्द गर्ने निर्णय गरेको हो ।उक्त निर्णयलाई आईसीसीले समेत मान्यता दिएको छ ।
शुक्रबार पार्थना भईरहेको समयमा बन्दुकधारीले अल नूर मस्जिद र लिनवुड मस्जिदमा आक्रमण गरेका थिए । आक्रमणमा ४० जनाको मृत्यु र धेरै मानिस घाइते भएको बताईएको छ ।
उक्त आक्रमणबाट खेलाडीहरु भने जोगिएका छन् । उक्त आक्रमण हुँदा खेलाडीहरु अभ्यासको लागि मैदान जाने तयारी गरिरहेका थिए ।
आक्रमणपछि खेलाडीहरु बसबाट झरेर होटेल फर्किएका थिए । केहि खेलाडी र अफिसियल भने मैदानमा पुगिसकेका थिए । उनीहरुलाई अहिले कडा सुरक्षाका साथ राखिएको छ ।
उक्त आक्रमण बंगलादेशी खेलाडी बसेको होटल नजिक भएको थियो ।
यस्तै बंगलादेशका खेलाडीलाई चाडै घर फर्काउने तयारी भईरहेको छ ।