विराटनगर । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरी खड्काले बंगलादेशविरुद्व आक्रमक फुटबल खेल्ने बताएका छन् ।
शुक्रबार विराटनगरकाे सहिद मैदानमा पत्रकारसंग कुरा गर्दै प्रशिक्षक खड्काले समूह चरणको दोस्रो खेलका लागि नेपालकाे तयारी पुरा भईसकेको बताए ।
नेपालले समूह चरणकाे अन्तिम खेलमा भाेली (शनिबार) बंगलादेशविरुद्द प्रतिस्पर्धा गर्दैछ ।
‘बंगलादेशविरुद्व जितको लागि खेल्नेछौ । आक्रमक फुटबल खेल्नेछौ । बंगलादेशलाई जितेर समूह विजेताको रुपमा सेमिफाईनल प्रवेश गछौ ।’ उनले भने ।
बंगलादेश उदाउँदो शक्ति रहेको बताउँदै प्रशिक्षक खड्काले नेपाली साफमा स्थपित टिम बनेको दाबी गरे ।
‘बंगलादेश उदाउँदो शक्ति हो । नेपालले आफुलाई स्थापित गरिसकेको छ । भारत सदाबहार टिम हो ।’ उनले थपे, ‘त्यसैले बंगलादेशविरुद्वको रणनीति तयार छ । बलियो र कमजोर पक्ष केलाएका छौ । बलियो पक्ष देखाउँदै सहज जित निकाल्छौ ।’
प्रशिक्षक खड्काले नेपालको फरवार्ड लाईन दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्दै फरवार्डले क्षमता अनुसारको खेलेमा टिमलाई पुग्ने बताए ।
डिफेन्सको परिक्षण हुन बाँकी रहेको स्विकार गर्दै उनले आफुले टिमको ल्याएको सन्तुलन भोलीको खेलमा देखिने बताए ।
नेपाली टिमकी कप्तान निरु थापाले बंगलादेशविरुद्व सुधारिएको प्रर्दशन गर्ने बताईन् । टिम सबै पक्षमा उत्कृष्ट रहेको बताउँदै उनले प्रशिक्षकको निर्देशनलाई बंगलादेशविरुद्वको खेलमा उतार्ने दाबी गरिन् ।