एजेन्सी । वायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले प्रशिक्षक निको कोभाकको खराब रणनीतिको कारण च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिनु परेको बताएका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा लिभरपुलसंग ३-१ ले पराजित हुँदै वायर्न प्रतियोगिताबाट बाहिरिएको थियो ।
च्याम्पियन्स लिगबाट बाहिरिएपछि पोलिस फरवार्ड लेवान्डोस्कीले प्रशिक्षक निकोको आलोचना गरे । लेवान्डोस्कीले प्रशिक्षक निकोको रक्षात्मक रणनीतिको कारण हार व्यहोरेको बताए ।
'पहिलो खेलमा हामीले फरवार्ड खेल्ने खतरा मोलेनौ र गोलका लागि प्रयास गरेनौं,' लेवान्डोस्कीले भने ।
यस्तै लेवान्डोस्कीले दोस्रो लेगमा पनि आक्रामक खेल्ने प्रयास नगरेको बताए । उनले घरेलु मैदानमा खेल भएपनि टिमले आफ्नो खेल नदेखाएको बताए ।
'मलाई लाग्छ आज पनि हामीले आक्रामक खेल्ने र गोल गर्ने प्रयास गरेनौ । किनकी हामीसंग प्रयाप्त मौकाहरु थिएन । त्यो हाम्रो समस्या रह्यो, 'लेवान्डोस्कीले भने, 'हामी घरेलु मैदानमा खेल्दै थियौ तर त्यो हाम्रो खेल थिएन । त्यसकारण लिभरपुलले हामीलाई हरायो ।'
उनले टिमको प्रदर्शनबाट रिस उठेको समेत बताए । 'मलाई थाहा छ हामीले त्यो भन्दा राम्रो प्रर्दशन दिनसक्छौं तर हामीले गरेनौं त्यसैले रिस उठेको छ,' लेवान्डोस्कीले थपे ।