ललितपुर । ऋतिक खड्काले ह्याट्रिकसहित ४ गोल गरेपछि ललित स्मृति यू - १८ फुटबल च्याम्पियनसिपमा ब्रिगेड ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा ऋतिक चम्कदा ब्रिगेडले पुलिसलाई ५ - १ गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ब्रिगेडलाई जित दिलाउन ऋतिकले २८, ४१, ५५ र ६२ औं मिनेटमा गोल गरेका थिए । यस्तै ब्रिगेडका लागि थप एक गोल जय गुरुङले गरे । उनले खेलको २४ औं मिनेटमा गोल गरेका थिए । पुलिसको लागि एक मात्रै सान्त्वना गोल प्रदिप बानियाले खेलको ३४औं मिनेटमा गरेका थिए ।
यो जितसंगै समूह बी मा रहेको ब्रिगेडले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । जितपछि ब्रिगेडले ५ अंक जोडेको छ ।
पुलिस भने जित बिहिन हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।