विराटनगरमा । पाँचौ संस्करणको साफ च्याम्पियनसिपमा समेत भुटानले जित दर्ता गर्न सकेन । पाँचौ संस्करणसम्म आईपुग्दा भुटानले प्रतियोगितामा एक जित समेत दर्ता गर्न सकेको छैन । विराटनगरको सहिद रंगशालामा भएको पाँचौ संस्करणमा समेत भुटान समुह चरणको दुवै खेलमा पराजित हुदै प्रतियोगिताबाटै बाहिरियो ।
पहिलो खेलमा नेपालसंग ३–० ले पराजित भुटान दोस्रो खेलमा बंगलादेशसंग २–० ले हार्न पुग्यो । तुलनात्मक रुपमा दोस्रो खेलमा राम्रो प्रर्दशन गरेको भुटानले पहिलो हाफसम्म बंगलादेशलाई गोल रहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो हाफमा डिफेन्स लाईन समालिन नसक्दा भुटान दुई गोल ब्यहोर्न बाध्य भयो ।
४७ औ मिनेटमा उपकप्तान मिश्रात जहान मौसमीले गोल गर्दै बंगाली टोलीलाई अग्रता दिलाएकी थिईन् । मोनिका चक्माको कर्नर प्रहारलाई भुटानी डिफेन्डरले क्लियर गर्न नसकेपछि मौसमी बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिईन् ।
८५ औ मिनेटमा भुटानको डिफेन्स लाईनलाई एक्लै विट गर्दै कप्तान सविना खातुनले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् ।
सुधारिएको प्रर्दशन गरेपनि भुटानले दोस्रो खेलमा गोल निकाल्न सकेन । दुई स्ट्राईकरलाई मैदानमा उतारे पनि बंगलादेशी डिफेन्सलाई दबाब दिन भुटानी फरवार्ड असफल रहे ।
‘दोस्रो खेलमा राम्रो प्रर्दशन गरेका थियौ । टिमको प्रर्दशनबाट म सन्तुष्ट छु ।’ भुटानी प्रशिक्षक सुङ जिय लिले भने, ‘दुई मुख्य खेलाडी घाईते भए । तर दुई स्ट्राईकरलाई मैदान उतारेपनि गोल निस्किन सकेन ।’
प्रतियोगिताको पहिलो खेलमा भुटानविरुद्व उत्रिएको बंगलादेशले खेलको सुरुवातबाटै आक्रमक खेल पस्किएको थियो । तर गोलका लागि दोस्रो हाफसम्मै पर्खन प¥यो ।
‘खेलाडीको प्रर्दशनबाट म सन्तुष्ट छु । खेलाडीले सूरुबाटै मेहेनत गरेका थिए ।‘ बंगलादेशी प्रशिक्षक गोलम रोबानी छोटनले भने, ‘पहिलो हाफमा गोल ननिस्किएपनि खेलाडीले सुरुवातबाटै अन्तिम मिनेटसम्म प्रयास गरेका थिए ।’