विराटनगर । साफ च्याम्पियनसिप फुटबलमा भुटान र बंगलादेशले पहिलो हाफको खेलसम्म बराबरी खेलेका छन् । विराटनगरको सहिद रंगशालामा पहिलो हाफको खेल सकिदाँ दुवै टोलीले गोल रहित बराबरी खेलेका हुन् ।
भुटानले सुधारिएको प्रर्दशन गर्दै बंगलादेशको आक्रमणलाई निस्तेज पारेको छ । पहिलो हाफमा बंगलादेशकाे आक्रमणलाइ भुटानी डिफेन्डरले विफल बनाएका छन् ।
खेलको सुरुवातीबाट एक पछि अर्को मुभ बनाउँदै बंगलादेशले खेललाई नियन्त्रणमा राखेको थियो । १२ औ मिनेटमा बंगलादेशकी सिरात जहान सोप्ना वान भर्सेस वानमा चुुकेकी थिईन् । उनको भली बल पोस्टको निकै माथिबाट बाहिरियो ।
२९ औ मिनेटमा मारिया मन्दाको कर्नर प्रहारलाई जहान सोप्नाले ठम्याउन नसक्दा बंगलादेश अग्रता लिन चुक्यो ।
३५ औ मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनको प्रहार पोस्टको केही माथिबाट बाहिरियो । लगत्तै उनको डि बक्स बाहिरको कडा प्रहार भुटानकी गोलकिपरले मुस्किलले बचाएकी थिईन् ।
भुटानले पहिलो हाफसम्म एउटा पनि गतिलो आक्रमण बुन्न सकेन ।
उद्घाटन खेलमा भुटानले नेपालसंग ३–० को पराजय ब्यहोरेको थियो ।
अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राख्न भुटानलाई कम्तिमा बराबरीको नतिजा आवश्यक छ ।