काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले गत बर्षको इण्डियन प्रिमियर लिग (आईपीएएल) खेल्दै टी-ट्वान्टीको फ्रेन्चचाइज लिगमा पाइला चालेका थिए ।
दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) बाट आईपीएएल खेलेका सन्दीपले डेब्यु सिजनको १३ खेल मध्ये ३ खेलमा मात्र खेल्ने मौका पाए । तर, सन्दीपले डेब्यु सिजनको ३ खेलमा पनि निकै प्रभावशाली प्रदर्शन गर्दै ५ विकेट हात पारेर सारा विश्वलाई चकित बनाए ।
गत संस्करणको प्रदर्शनले दिल्लीले सन्दीपलाई रिटेन समेत गरिसकेको छ । एक सातापछि सन्दीप दिल्ली जाँदैछन् । तर, भारतका एक अनलाइनले भने सन्दीपलाई दिल्लीको कमजोर पक्षको रुपमा व्याख्या गरेको छ । यस्तै सन्दीपलाई सम्भावित सुरुवाती ११ मा समेत राखेको छैन् ।
टाइम्सनाउन्युज डटकमले दिल्लीको टिमको विश्लेषण गर्दै सन्दीपलाई कमजोर पक्षमा राखेको हो । उक्त अनलाइनले दिल्लीले आईपीएललमा उत्कृष्ट प्रदर्शन गर्न नसक्नुको कारण स्पिन बलिङको कमजोरी देखाएको छ ।
जसमा दिल्लीका मुख्य स्पिनर अमित मिश्राले किफायती बलिङ गर्न नसक्नु रहेको बताएको छ । त्यस्तै अघिल्लो सिजन पन्जाबबाट खेलेका स्पिनर अक्षर पटेलले खासै राम्रो गर्न नसकेका र दिल्लीले भित्र्याउनु कमजोरी नै रहेको बताएको छ ।
विश्वभर टी-ट्वान्टी लिगमा राम्रो प्रदर्शन गरेका सन्दीपले आईपीएलमा सोही लयलाई कायम राख्न सक्छन कि सक्दैनन् त्यो भने हेर्न बाँकी रहेको अनलाइनले लेखेको छ ।
अनलाइनले सम्भावित प्लेईइङ ११ मा सन्दीपको नाम उल्लेख गरेको छैन । सम्भावित प्लेईङ ११ मा शिखर धवन, कोलिन मुन्रो, पृथ्वी साह, ऋषब पन्त, श्रेएस आइएर (कप्तान), क्रिस मोरिस वा कोलिन इन्ग्राम, कागीसो राबडा, अक्षर पटेल, इशान्त शर्मा, अमित मिश्रा र ट्रेन्ट बोल्टलाई रोजेको छ ।
सन्दीपको स्थानमा अमित नै खेलाउन सक्ने अनलाइनको अनुमान रहेको छ ।