काठमाडौं । नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबल अन्तर्गत समूह चरणमा दुई भारतीय क्लब प्रतिद्वन्दी पाएको छ ।
प्ले अफबाट भारतीय क्लब चेन्नायीन एफसी छनोट भएपछि मनाङले समूह चरणमै दुई भारतीय प्रतिद्वन्दी पाएको हो । प्ले अफमा श्रीलंकाको कोलोम्बो एफसीलाई समग्रमा १-० ले पराजित गर्दै चेन्नायीनले समूह चरणमा स्थान बनाएको हो ।
चेन्नायीन समूह चरणका लागि छनोट भएसंगै मनाङले समूह चरणमा प्रतिस्पर्धा गर्ने तीन टोलीको टुंगो लागेको छ ।
मनाङले समूह चरणको पहिलो खेलमा बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसंग प्रतिस्पर्धा गर्नेछ ।
समूह 'ई' मा रहेको मनाङले पहिलो खेलको रुपमा अप्रिल ३ मा अबहानी लिमिटेडको सामना गर्ने छ । मनाङको होम खेल अन्तर्गत रहेको उक्त खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । मनाङले अबहानीसंग अवे खेल भने ढाकास्थित बंगबन्धु स्टेडियममा आगामी जुन १९ मा खेल्नेछ ।
यस्तै मनाङले चेन्नायीनसंग अवे खेल अप्रिल १७ मा खेल्नेछ । चेन्नायीनसंग मनाङले होम खेल आगामी जुन २६ मा एन्फा कम्प्लेक्समा खेल्नेछ ।
त्यस्तै मनाङले भारतको च्याम्पियन मिनेर्भा पन्जाबसंगको अवे खेल भुवनेश्वरमा आगामी मे १ मा खेल्नेछ । मनाङले पन्जाबसंगको होम खेल मे १५ मा एन्फा कम्प्लेक्समा खेल्नेछ ।
होम एण्ड अवेको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्ले अफमा समूह 'इ' को विजेतासहित समूह 'डी', 'आइ' र एसिन क्षेत्रको विजेताले खेल्नेछ ।