एजेन्सी । इटालियन क्लब युभेट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वको सवार्धिक लोकप्रिय खेलाडी बनेका छन् ।
खेलकुदको लोकप्रिय अनलाइन इएसपीएनले सार्वजनिक गरेको विश्वको एक सय लोकप्रिय खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा रहेका छन् ।
इएसपीएनले निकालेको 'इएसपीएन वर्ल्ड फेम-१००' को सूचीमा रोनाल्डो लगातार चौंथो बर्ष शीर्ष स्थानमा रहेका हुन् ।
विश्व प्रशिद्द खेलाडी बन्ने क्रममा रोनाल्डोले बास्केटबल खेलाडी लेबोर्न जेम्स र बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि बनाएका हुन् । अमेरिकन बास्केटबल स्टार जेम्स दोस्रो स्थानमा रहदा अर्जेन्टिनाका मेस्सी तेस्रो स्थानमा रहेका छन् ।
सूचीको चौंथो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमार रहेका छन् । पाँचौ स्थानमा युएएफसी फाइटर कोर्नर मेक ग्रिगोर रहेका छन् ।
यस्तै टेनिसका रोजर फेडेरर छैटौं, क्रिकेटका विराट कोहली सातौं, टेनिसका राफायल नाडाल आठौं, बास्केटबलका स्टेफेन कुरी नवौं र गल्फका टाइगर्स उड दशौँ स्थानमा रहेका छन् ।
त्यस्तै म्यानचेस्टर युनाईटेडका पाउल पोग्बा १२ औं स्थानमा रहदा पिएसजीका स्टार केलियन एमबाप्पे १४ औं स्थानमा छन् । भारतीय ब्याट्सम्यान महेन्द्र सिंह धोनी १३ औं र युवराज सिंह १८ औं स्थानमा रहेका छन् ।
फ्रान्सक एन्टोनियो ग्रीजम्यान १६ औं, टेनिसका सेरेना विलियम्स १७ औं, आर्सनलका मोसीट ओजिल १९ औं र टेनिस खेलाडी नोभाक जिकोभिक २० औं स्थानमा अटाएका छन् ।
इएसपीएनले करिब ८ सय चर्चित खेलाडीबाट सर्वेक्षण गर्दै लोकप्रिय खेलाडी निकालेको हो । जसमा सामाजिक संजालको फलोवर्स, गुगल सर्चको फलोवर्स लगायतका कुराहरु समेटिएको छ।