एजेन्सी । युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पुरा भएको छ ।
बुधबार राति अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना र इन्ग्लिश क्लब लिभरपुलले अन्तिम आठको यात्रा तय गरेसंगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पुरा भएको हो ।
च्याम्पियन्स लिगको यस सिजन सर्वाधिक ४ इन्ग्लिश क्लबले क्वाटरफाइनलको यात्रा तय गरेको छ । इंग्ल्यान्डका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, टोटेनहम र लिभरपुलले अन्तिम आठको यात्रा तय गरेका छन् ।
च्याम्पियन्स लिगमा १० बर्षपछि पहिलो पटक चार इन्ग्लिश क्लबले क्वाटरफाइनलमा स्थान बनाएको हो । यसअघि सन् २००८/९ को सिजन चार इन्ग्लिश क्लबले क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।
यस्तै स्पेनबाट बार्सिलोना,इटालीबाट युभेन्ट्स,नेदरल्याण्डबाट आयाक्स र पोर्चुगलबाट पोर्टोले च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान पक्का गरेका छन् ।
यस सिजन साबिकको बिजेता रियल मड्रिड, जर्मन क्लब वायर्न म्युनिख, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लगायतका ठुला क्लबले क्वाटरफाइनलको यात्रा गर्न सकेनन् ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र शुक्रबार हुनेछ ।