एजेन्सी । इन्ग्लिश क्लब एभर्टनका स्ट्राइकर वायन रुनी अमेरिकाको उच्च डिभिजनको लिग मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडमा अनुबन्धित हुने पक्का भएको छ । डीसी युनाइटेडसंग सम्झौता गर्न रुनी बिहिबार वासिङ्गटन डीसी प्रस्थान गरेका छन् ।
इंग्ल्यान्डका पुर्व कप्तान रुनीले डीसी युनाइटेडसंग साढे तीन बर्षे सम्झौता गर्ने अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ । रुनीले पनि सोसियल साइडमा अमेरिका प्रस्थान गर्दै गरेको तस्बिरहरु पोस्ट गरेका छन् । ३२ वर्षीय रुनीले क्लबसंग आजै सम्झौता गर्ने बताइएको छ ।
लामो समय म्यानचेस्टर युनाइटेडमा बिताएका रुनी गत सिजन बाल्यकालको क्लब एभर्टन गएका थिए । सन् २००४ मा म्यानचेस्टर युनाइटेड आएका रुनीले युनाइटेडबाट १३ सिजन खेल्दै ५ प्रिमियर लिग र एक च्याम्पियन्स लिग जितेका थिए ।
पछिल्लो समय युनाइटेडमा पर्न छाडेपछि रुनी एभर्टन गएका थिए । यो सिजन रुनीले एभर्टनबाट ११ गोल समेत गरेका थिए । एभर्टन पनि पहिलो रोजाईमा नपरेपछि रुनीले अमेरिकन लिग रोजेको बताईएको छ ।
