विराटनगर। सायद भुटानले अब घर फर्कने टिकट काटेको हुनपर्छ । नेपालसंगको पराजय पछाडी यत्ति भन्न सकिने केही आधार छन् ।
पाँचौ संस्करणसम्म आईपुग्दा भुटान महिला साफको सबै भन्दा कमजोर टिम हो । साफमा एउटा जित समेत निकाल्न नसकेको भुटानले त्यसका लागि अझै लामो समय पर्खनु पर्ने देखिन्छ ।
विराटनगरको सहिद रंगशालामा भएको उद्घाटन खेलमा भुटानको प्राप्त गरेको नतिजा र मनोदशाले सोही कुराको प्रतिबिम्भित गर्छ ।
मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हरायो । जब खेल सकियो, भुटानी प्रशिक्षकले नतिजालाई सामान्य रुपमा प्रतिक्रिया जनाए । बरु उनको आक्रोश प्रतियोगिताको व्यवस्थापनलाई लिएर देखियो । उनले ठाडै भनिदिए, मेरो जिवनकालमा सिनियर टिमको प्रतियोगितामा यस्तो झुर व्यवस्थापन कहिल्यै देखेको थिईन् ।
एक हिसावले भन्ने हो भने भुटान दक्षिण एसियामा सबैका लागि सहज प्रतिद्वन्दी हो । अझ भनौ कमजोर टिमको पर्यायनै हो ।
पछिल्लो समय घरेलु फुटबलमा ठुलो परिवर्तन भुटानले गरेको छ । दक्षिण एसियाको पुरुष टिमको भुटानले गरेको प्रर्दशन र प्राप्त नतिजाले समेत त्यसलाई प्रमाणित गर्छ । तर त्यसको प्रभाव महिला टिममा देखिएको छैन । यसले कति समय लिन्छ, यसै भन्ने सकिने आधार छैन ।
बिहिबार सहिद रंगशालमा भुटानले समूह चरणको दोस्रो खेल खेल्दैछ, बंगलादेशविरुद्व ।
यही खेलले धेरै हदसम्म समूह 'ए' बाट सेमिफाईनल पुग्ने टोलीको समिकरण बताउनेछ । बंगलादेशको जितले एक खेल अगावै दुई टोलीलाई सेमिफाईनल पुर्रयाउने छ । भुटानको जितले तीनै टोलीको अन्तिम ४ मा पुग्ने टोलीको सम्भावना राख्नेछ ।
तर पछिल्लो समय महिला फुटबलमा ठुलो सफलता आत्मसाथ गर्दै आएको बंगलादेशलाई रोक्न भुटानलाई यसैपनि गाह्रो पर्ने निश्चित छ ।
समूह 'ए' मा नेपालकाे ३ अंक छ । भुटान अंक विहिन छ । बंगलादेश पहिलाे खेल खेल्दैछ ।
सहिद रंगशालामा हुने खेल दिउँसाे ३ बजे सुरु हुनेछ ।