एजेन्सी । अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । बुधबार भएको पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतलाई ३५ रनले हराउँदै अष्ट्रेलियाले सिरिज ३-२ ले जितेको हो ।
दिल्लीस्थित कोट्ला क्रिकेट स्टेडियममा अष्ट्रेलियाले दिएको २७३ रनको लक्ष्यसहित ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा अलआउट हुँदै २३७ रन मात्र बनाउन सक्यो ।
भारतका लागि रोहित शर्माले ५६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । योसंगै रोहितले आफ्नो करियरको ८ हजार एकदिवसीय रन पुरा गरे ।
यस्तै भुवनेश्वर कुमारले ४६ तथा केदार जादबले ४४ रन बनाए । कप्तान विराट कोहली २० रनमा आउट हुँदा शिखर धवनले १२ रन बनाए ।
अष्ट्रेलियाका आडम जाम्पाले ३ विकेट लिए । यस्तै पाट कुमिन्स, जे रिचार्डसन र मार्कस स्टोइनेसले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७२ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले शतकीय इनिङ्स खेले । ख्वाजाले १० चौका र २ छक्काको मद्दतमा १०० रनको योगदान दिए ।
यस्तै पिटर ह्याण्ड्कम्बले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यसबाहेक अष्ट्रेलियाका लागि जे रिचार्डसन्ले २९, कप्तान एरोन फिन्चले २७ तथा मार्कस स्टोइनेस र एस्टन टर्नेरले समान २०/२० रन बनाए । प्याट कुमिन्सले १५ रन जोडे ।
भारतका भुवनेश्वर कुमार ३ विकेट लिए । मोहमद शामी र रबिन्द्र जडेजाले २/२ विकेट लिए ।
यो जितसंगै अष्ट्रेलियाले उत्कृष्ट पुनरागमन गर्दै सिरिज जितेको हो । सुरुवाती २ खेल गुमाए पनि त्यसपछिको ३ खेल जित्दै अष्ट्रेलियाले सिरिज जितेको हो ।
यसअघि अष्ट्रेलियाले भारतविरुद्धको टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको थियो ।