धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा सुदुरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै सुदुरपश्चिमले विजयी सुरुवात गरेको हो ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट क्षतिमा ९४ रन बनायो । उसका लागि दिवान पुनले २२ र हेमन्त ओलीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो रन अंक बनाउन सकेनन् ।
सुदुरपश्चिमका लागि नरेन्द्र साउँदले ४ महेश अधिकारीले २ र विकास आग्रीले एक विकेट लिए ।
कर्णालीले दिएको ९५ रनको विजय लक्ष्य सुदुरपश्चिमले १४ ओभर १ बलमा २ विकेट गुमाएर पुरा गर्यो । उसका लागि सन्जु बोहोराले ४३, खड्क बोहोराले २४ तथा दिपेन्द्र बोहोराले २० रन बनाए ।
अर्को खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ५ रनले हराएको छ ।
टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर १ ले २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो । प्रदेश १ क दिपेश कडेलले ३६ र पुष्प थापाले ३४ रन बनाए । प्रदेश नम्बर ५ का लागि कृष्ण कार्कीले दुई विकेट लिए ।
प्रदेश १ ले दिएको ११६ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ ले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा ११० रन मात्रै बनाउन सक्यो । उसका सुवेन्द्र पाण्डेले २२ र सौरभ खनालले १५ रन बनाए । प्रदेश नम्बर १ का पुष्प थापा र मुकुन्द यादवले दुई दुई विकेट लिए ।
महिलातर्फ सुदूरपश्चिमले ऐतिहासिक जित हात पारेको छ । पहिलो खेलमा कर्णाली प्रदेशलाई ४ रनमा अलआउट गर्दै सुदूरपश्चिमको महिला टिमले ऐतिहासिक जित हात पारेको हो ।
टस जितेर व्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित १५ ओभरमा २३१ रन बनायो । सुदुरपश्चिमका लागि रुवी पोदारले ५२ बलमा ८५ रन बनाईन्। यस्तै रेवती धामीले ४४ बलमा ६९ रन बनाईन् ।
सुदूरपश्चिमले दिएको २३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४ रनमै अलआउट भएको हो । कर्णाली प्रदेशका लागि लक्ष्मी पुरीले १ रन बनाईन् भने ३ रन अतिरिक्त पाएको थियो ।
सुदूरपश्चिमका लागि कविता कुँवरले २ ओभरमा २ ओभर नै मेडन राख्दै ह्याट्रिकसहित ४ विकेट लिईन् । यस्तै सुमन विष्टले २ ओभरमा ४ रन दिएर २ विकेट लिईन्।
दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ७ विकेटले हराएको छ । प्रदेश नम्बर ५ ले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट क्षतिमा १०७ रन बनायो । उसका लागि सरस्वती पुनले २८ नितु भण्डारीले २१ रन बनाईन् । प्रदेश नम्बर १ का लागि सवनम राई र निग्मा तामाङले दुई दुई विकेट लिईन् ।
प्रदेश ५ ले दिएको १०८ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदै लक्ष्य पुरा गर्यो । प्रदेश नम्बर १ लाई सानदार जित दर्ता गराउन रोमा थापाले ६१ रनको अविजित पारी खेलिन् । त्यस्तै अप्सरी वेगमले पनि १८ रन जोडिन् ।