एजेन्सी । इंग्ल्यान्डका पुर्व डिफेन्डर रियो फर्डिनाण्डले इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो 'फुटबलका जीवित देवता' भएको बताएका छन् ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत एट्लेटिको मड्रिडविरुद्धको दोस्रो लेगमा ह्याट्रिक गर्दै युभेन्ट्सलाई क्वाटरफाइनलमा पुर्राएपछि फर्डिनाण्डले रोनाल्डोलाई फुटबलका जीवित भगवानको उपमा दिएका हुन् ।
‘उनी फुटबलका जीवित देवता हुन् । उनले जे गरे त्यो हास्यास्पद जस्तै छ,’ इंग्ल्यान्ड तथा म्यान्चेस्टर युनाईटेडका पुर्व डिफेन्डर फर्डिनाण्डले भने ।
क्लब फुटबलमा एट्लेटिको मड्रिडको डिफेन्स सर्वाधिक मजबुद मानिन्छ । तर, रोनाल्डोले एट्लेटिकोको डिफेन्स सहजै चिरेका थिए । रोनाल्डोले ह्याट्रिक गरेपछि युभेन्ट्सले पहिलो लेगमा २-० ले पछि परेको स्थिति उल्टाएर ३-२ जितसहित अन्तिम आठको यात्रा तय गरेको थियो ।
एट्लेटिकोविरुद्धको ह्याट्रिकसंगै रोनाल्डोले च्याम्पियन्स लिगमा आठौं ह्याट्रिक पुरा गरे । र, लियोनल मेस्सीसंग सर्वाधिक ह्याट्रिकमा बराबरी गरे ।
३४ बर्षको उमेरमा रोनाल्डोको उक्त प्रदर्शनबाट विश्वकप सदस्य फर्डिनाण्ड निकै चकित बने ।
‘च्याम्पियन लिगमा उनको हरेक कीर्तिमान छ । तपाई कल्पना गर्न सक्नु हुन्छ । उनले मेस्सीसंग ह्याट्रिकमा बराबर गरे,’ फर्डिनाण्डले थपे ।
रोनाल्डोले च्याम्पियन्स लिगमा १५८ गोल गरेका छन् । रोनाल्डो च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।