एजेन्सी । रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले ब्राजिलियन फरवार्ड नेयमार र फ्रान्सका केलियन एमबाप्पेलाई क्लबमा ल्याउने चाहना भएको बताएका छन् ।
मुख्य प्रशिक्षक जिनेदान जिदानलाई अनुबन्ध गरेपछि पेरेजले अब रियलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का दुई युवा स्टार नेयमार र एमबाप्पेलाई क्लबमा ल्याउन चाहेको बताएका हुन् ।
अध्यक्ष पेरेजले भविष्यमा दुवै खेलाडी क्लब आउनेमा आशावादी रहेको समेत बताए ।
‘जिदान फ्रान्सका हुन् । जिदानले सायद एमबाप्पेसँग केही गर्न सक्छन् कि,’ पेरेजले पत्रकारसंग भनेका छन् ।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएपछि रियलले ठूलो संघर्ष गर्नु परिरहेको छ । त्यसैले रियलले रोनाल्डोको स्थान लिन सक्ने नेयमार र एमबाप्पेलाई अनुबन्धको प्रयास गरिरहेको छ ।
रियलले कीर्तिमानी मूल्यका नेयमारलाई ल्याउन पटक पटक प्रयास गरिरहेको छ । तर, सफल हुन सकेको छैन । नेयमारबार्सिलोना बाट कीर्तिमानी मूल्यमा पीएसजी गएका थिए ।
यस्तै अध्यक्ष पेरेजले अहिले सिजनको सुखद अन्त्य र आगामी सिजन उत्कृष्ट सुरुवात गर्न चाहेको बताए ।
'अहिले हामी यो सिजन राम्रोसँग अन्त्यको बारेमा चिन्तित छौं र अर्को सिजनको तयारी सुरु गर्नेछौं,' पेरेजले भने ।