एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा फराकिलो जित निकाल्दै म्यानचेष्टर सिटी क्वार्टरफाईनल प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब शाल्केलाई ७–० गोल अन्तरले हराएको हो ।
सिटी समग्रमा १०–२ को नतिजा सहित अन्तिम ८ मा पुगेको हो । पहिलो लेगको खेलमा सिटीले ३–२ को अग्रता लिएको थियो ।
३५ औ मिनेटमो सर्जियो अग्युरोको पेनाल्टी गोलबाट म्यान्चेष्टर सिटीले अग्रता लियो । ३८ औ मिनेटमा अग्युरोलेनै सिटीको अग्रता दोब्बर पारे । ४२ औ मिनेटमा लिरोय सानेले म्यान सिटीलाई ३–० को स्थितीमा पुर्याएका थिए ।
रहिम स्टर्लिङले ५६ औ मिनेटमा क्लबका लागि चौथो गोल गरे । बेर्नाल्डो सिल्भाले ७१ औ मिनेटमा सिटीलाई ५–० को स्थितीमा पुर्याए ।
फिल फोडिनले ७८ औ मिनेटमा टोलीका लागि छैटौ गोल गरे । ८४ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै टोलीको जित ७–० मा पुर्याएका थिए ।
प्रतियोगिताको क्वार्टरफाईनलको ड्र आगामी शुक्रबार हुनेछ ।