काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले एएफसी कप फुटबलको दोस्रो खेलमा जित निकालेको छ ।
मंगलबार भएको खेलमा जकार्ताले बर्माको क्लब शान युनाईटेड एफसीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
शानको मैदानमा जकार्ताले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । जकार्तालाई जित दिलाउन ब्रुनो माटोसले दुई गोल गरे । स्टेभेन पौलेको नाममा एक गोल रह्यो । घरेलु टोलीका र्यो नाकामुराले एक गोल गरे ।
जितसंगै समूह 'जी' मा रहेको जकार्ताले २ खेलबाट ४ अंक जोडेको छ । जकार्ता समूहको दोस्रो स्थानमा छ ।
यसअघि पहिलो खेलमा जकार्ताले भियतनामको क्लब बिकमेक्स बिन डुवङसंग गोलरहित बराबरी खेलेको थियो ।
शानविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए । इन्डोनेसियन लिगमा उत्कृष्ट खेलाडी घोषित रोहित पुन: एक सिजनको लागि जकार्ता पुगेका हुन् । गत सिजन रोहितले जकार्ताबाटै खेलेका थिए ।