विराटनगर । घरेलु मैदानमा मंगलबार सुरु पाँचौ महिला साफ च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गर्यो ।
विराटनगरस्थित सहिद रंगशालामा नेपालले पहिलो खेलमा भुटानलाई ३-० गोल अन्तरले पराजित गर्यो । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्का जितबाट खुसी भएनन् ।
'सोचे अनुसारको नतिजा नआएपनि जितबाट सुरुवात गर्यौ । खेलाडी बढी आत्मविश्वासी बनेका हैनन् । मौसमको कारणले दोस्रो हाफमा विंगरहरु थाकेको जस्तो देखिए,' खेलपछि प्रशिक्षक खड्काले भने, 'मौकाहरु धेरै सिर्जना गरेका थियौं । फुटबलमा यस्तो हुन्छ । मैले थोरैमा पनि ६ गोल गर्छौं भन्ने अपेक्षा गरेको थिए ।'
नेपालको जितमा मन्जली कुमारी योञ्जन, साबित्रा भण्डारी र कप्तान निरु थापाले समान एक एक गोल गरेकी थिईन् ।भुटानमाथि सहज जित निकालेपछि प्रशिक्षक खड्काले आफ्नो टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा गोल संख्या सोचे अनुरुप नभएको बताए ।
जितसंगै नेपालले दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले बंगलादेशसंग खेल्नेछ ।
बंगलादेशसंग हुने खेलमा भने टोलीले खेलमा सुधार गर्ने प्रशिक्षक खड्काले बताए ।
'भुटानसंगको जस्तो खेल बंगलादेशसंग हुँदैन । टिम अनुसारको खेल पनि हुन्छ । राम्रो टिमसंग राम्रै प्रदर्शन हुन्छ । आज पहिलो खेल भएर पनि होला । गोल अन्तरले समूह चरणमा असर गर्ने भएका कारण हामीले आक्रमक खेल्ने प्रयास गरेका हौं,' प्रशिक्षक खड्काले थपे ।
यस्तै प्रशिक्षक खड्काले भुटानले एक खेलाडी मात्र अगाडी खेलाएको कारण ३ नेपाली डिफेन्डर खेलाएको बताए । उनले बंगलादेशविरुद्धको खेलअघि बंगलादेशको खेल हेर्न पाईने कारण उनीहरुसंग खेल्ने खेलको रणनीति बनाउने बताए ।