एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेग अन्तर्गत आज (मंगलबार) राति दुई खेल संचालन हुँदैछ ।
मंगलबार राति युभेन्ट्स, म्यानचेस्टर सिटी, एट्लेटिको मड्रिड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामना गर्ने छ । युभेन्ट्सको मैदानमा हुने खेल राति १:४५ मा सुरु हुनेछ ।
एट्लेटिकोविरुद्ध मैदान उत्रदा युभेन्ट्स दबाबमा हुनेछ । किनकी युभेन्ट्स पहिलो लेगमा एट्लेटिकोसंग २-० ले पछि रहेको छ ।
युभेन्ट्सलाई क्वाटरफाइनलमा स्थान बनाउन उत्कृष्ट पुनरागमनको आवश्यकता रहेको छ । क्वाटरफाइनलमा स्थान बनाउन युभेन्ट्सलाई कम्तिमा गोल नखाई ३-० को जित निकाल्नु पर्नेछ ।
झिनो अन्तरको जितमा युभेन्ट्सलाई क्वाटरफाइनलमा स्थान बनाउन कठिन हुनेछ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, पाउल डीबाला, मारियो मान्डूज्की जस्ता खेलाडीले भरिएको युभेन्ट्स पुनरागमन गर्नेमा आशावादी रहेका छन् ।
यता, घरेलु मैदानको जितले हौसिएको एट्लेटिकोले आफ्नो अग्रता कायम राख्दै अन्तिम आठको यात्रा तय गर्न चाहन्छ ।
एट्लेटिकोलाई एन्टोनियो ग्रीजम्यान, अल्भारो मोराटा, कोके, डिएगो गोडिन जस्ता खेलाडीको साथ रहेको छ ।
यस्तै अर्को खेलमा इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले शाल्केसंग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने छ । दुई टोलीबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा सिटीलाई भने केहि सहज हुनेछ । पहिलो लेगमा सिटीले ३-२ को अग्रता बनाएको छ । त्यहिँ अग्रता जोगाउँदै सिटी क्वाटरफाइनलमा पुग्न चाहन्छ ।
शाल्के भने पुनरागमन गर्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । तर, निकै लयमा रहेको सिटीलाई पराजित गर्न शाल्केलाई चमत्कारी प्रदर्शनको आवश्यकता रहेको छ ।