काठमाडौं । मलेसियामा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटको तयारी गर्न नेपाली युवा टोली भारत भ्रमणमा जाने भएका छन् ।
यू-१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक बिनोद दासले विशेष तयारी गर्न नेपाली टोली भारत जाने खेलपाटीलाई जानकारी गराए । प्रशिक्षक दासले तयारीका लागि नेपाली टोली भारतको आन्ध्र प्रदेश जाने तयारी गरिरहेको बताए ।
'हामी भारत आन्ध्र प्रदेश जाने तयारी गरिरहेका छौं । त्यहाँको रणजी खेलेका टिम र प्रदेशको यू-१९ टोलीसंग खेल्ने कुरा भईरहेको छ,' प्रशिक्षक दासले भने ।
प्रशिक्षक दासले प्रदेश क्रिकेट संघसंग समन्यव गरिरहेको कारण यस पटक नेपाली टोलीले राम्रो अभ्यास गर्न पाउने समेत बताए । प्रशिक्षक दासले भारत भ्रमणको मिति केहि दिनमा तय हुने बताए ।
अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
नेपाल अहिले विश्वकपमा छनोट हुने लक्ष्यसहित तयारी गरिरहेको छ ।
'हामी विश्वकपमा छनोट हुने लक्ष्यसहित तयारी गरिरहेका छौं,' प्रशिक्षक दासले भने, 'हामीसंग छनोट हुने बाहेक अन्य विकल्प छैन ।'
टियु क्रिकेट मैदानमा जारी बन्द प्रशिक्षणमा ५० बढी खेलाडी बोलाईएको छ । जसबाट पहिलो चरणमा २६ खेलाडी छनोट गरिने प्रशिक्षक दासले जानकारी गराए ।