काठमाडौं । दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको पाचौँ संस्करण आज विराटनगरमा सुरु हुँदैछ । नेपालमा पहिलो पटक मोफसलमा हुन लागेको अन्तराष्ट्रिय प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्दैछ ।
घरेलु टोली नेपाल सहज जित सहित प्रतियोगितामा सुखद सुरुवात गर्ने दाउमा छ । कागजमा हिसाब गर्दा भुटानलाई कमजोर टिम मानिएको छ, विगतको प्रर्दशनले समेत सोही तथ्यलाई पुष्टि गर्छ ।
पाचौँ संस्करणसम्म आईपुग्दा भुटानले अहिलेसम्म साफमा जित दर्ता गर्न सकेको छैन । एक हिसावले भुटान साफमा पहिलो जितको खोजीमा हुनेछ । पाँचौ संस्करणको साफमा नेपालले तेस्रो पटक भुटानसंग खेल्दैछ । यसअघि भएका दुवै भेटमा नेपालले जित निकालेको थियो ।
सन् २०१४ मा पाकिस्तान र सन् २०१६ मा भारतमा भएको साफ च्याम्पियनसिपमा दुवै टिम भिडेका थिए । दुवै खेल नेपालले ८–० ले जितेको थियो ।
पाकिस्तानमा भएको तेस्रो संस्करणमा नेपालको जितमा सजना राना, अनु लामा, दिपा राईले दुई दुई गोल गरेका थिए भने मेनुका गिरि र सावित्रा भण्डारीले एक–एक गोल गरेका थिए ।
सन् २०१६ मा भारतमा भएको चौथो संस्करणमा नेपालले भुटानलाई पुन ८–० ले हराएको थियो । सो खेलमा सावित्रा भण्डारी चम्किएकी थिईन् । उनले दोहोरो ह्याट्रिक पुरा गरेकी थिईन् । उनले खेलको ५, ९, २३, ३५, ७२ र ७७ औ मिनेटमा गोल गरिन् । अन्य खेलमा शर्मिला थापा र कुष्णा खत्रीले एक–एक गोल गरेका थिए ।