एजेन्सी । अष्ट्रेलियाविरुद्धको एक मात्र टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्ड विजयी भएको छ । बुधबार राति भएको खेलमा इंग्ल्यान्डले पाहुना टोली अष्ट्रेलियालाई २८ रनले हराएको हो ।
बिर्मिन्घममा इंग्ल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९ ओभर ४ बलमा अलआउट हुँदै १९३ रनमा समेटियो । अष्ट्रेलियाका लागि आरोन फिन्चले ८४ रनको पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै अष्ट्रेलियाका लागि अश्टोन अगरले २९ तथा एन्ड्रयु टेइले २० रन जोडे । अष्ट्रेलियालाई सस्तैमा समेट्न इंग्ल्यान्डका कृष जोर्डन र आदील राशिदले समान ३ – ३ विकेट लिए । लियाम प्लुन्केटले २ विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर २२१ रन जोडेको थियो । इंग्ल्यान्डको लागि जोस बटलरल ६१ रनको अर्धशतकीय पारी खेल्दा एलेक्स हालेसले ४९ रन बनाए ।
त्यस्तै जासन जोयले ४४, जोय रुट्सले ३५ तथा कप्तान इयान मोर्गनले १५ रन जोडे । अष्ट्रेलियाका मिचेल स्विपसनले २ विकेट लिए ।
यो हारसँगै इंग्ल्यान्ड भ्रमणमा रहेको अष्ट्रेलिया जित बिहिन बनेको छ । अष्ट्रेलियाले यसअघि ५ खेलको एकदिवसीय सिरीज गुमाएको थियो । उक्त सिरिजमा इंग्ल्यान्डले क्लिन स्विप गरेको थियो । अष्ट्रेलियाले दुई क्लबसंगको अभ्यास खेल मात्र जितेको थियो ।