विराटनगर । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज (मंगलबार) घरेलु टोली नेपालले भुटानको सामना गर्दैछ ।
विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । र, घरेलु मैदानको साफ जित्ने लक्ष्य लिएको नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने दाउमा हुनेछ ।
भुटानविरुद्धको खेल जित्दै नेपाल सेमिफाइनलमा पुग्ने बलियो आधार खडा गर्न चाहन्छ । बलियो टोली बंगलादेश रहेको समूहको नेपाललाई दोस्रो चरणमा पुग्न भुटानलाई हराउँनै पर्ने हुन्छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालले सुरुवातमा समूह चरण पार गर्ने लक्ष्य लिएको बताईसकेका छन् ।
'हामी सबै विपक्षि राष्ट्रलाई कम आँक्ने छैनौं । नेपालको मनोबल उच्च रहेको छ,' प्रशिक्षक हरि खड्काले भने, 'पहिले समूह चरणमा नै ध्यान दिने छौं । घरेलु मैदानमा खेल्नु दबाब भन्दा पनि अवसर हो । सबै खेलाडीमा उपाधि जित्ने भोक रहेको छ ।'
पछिल्लो समय नेपाली महिला फुटबल टोलीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाललाई घरेलु समर्थकहो साथ पनि हुनेछ ।
त्यसैले प्रतियोगिता कै कमजोर मानिएको भुटानविरुद्ध नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ ।
तर, भुटानले नेपाललाई कडा टक्कर दिने बताएको छ । भुटानका कप्तान सोन्मा छोडेनले नेपाललाई चुनौती दिने गरि तयारी गरेको बताएकी छिन् ।
'नेपाल बलियो टोलि हो तर, हामीले टक्कर दिने छौं भन्नेमा आशावादी छौं,' कप्तान छोडेनले भनिन्, 'हामीले सोहि अनुसार तयारी गरेका छौं ।'
साफमा कति टिम ?
यस संस्करणको साफमा दक्षिण एसियाका ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपको समूह 'ए' मा नेपाल, भुटान र बंगलादेश रहेको छ । समूह 'बी' मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
साफ उद्घाटन :
प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले गर्ने एन्फाले जनाएको छ । उद्घाटन अघि झाकीसहित बिशेष प्रस्तुती हुनेछ ।
टिकट मूल्य ?
एन्फाले साफ च्याम्पियनसिपका लागि फरक फरक टिकट मूल्य राखेको छ । लिग चरणका लागि एन्फाले भिआइपी तर्फ ३ सय र साधारण प्याराफिटतर्फ २ सयको टिकट राखिएको एन्फाले जनाएको छ ।
टिकट इसेवाबाट र महिला शिप विकास कला केन्द्र विराटनगर र विरेन्द्र सभा गृहबाट किन्न सकिने छ ।
रंगशाला १ बजेदेखि २ बजेसम्म खुल्नेछ । रंगशालामा पानीको बोत्तल बाहेक अन्य वस्तुहरु हेल्मेट, सिक्का, छाता, झण्डा राख्ने डण्डी, डटपेन, सलाई, लाइटर लगायत प्रज्वलनशील बस्तु लैजान पाईने छैन् ।