काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको अन्तिम खेलमा हार व्यहोरेको छ । सोमबार भएको खेलमा लाहोर मुल्तान सुल्तानसंग ७ विकेटले पराजित भएको हो ।
कराँचीमा लाहोरले दिएको १४१ रनको लक्ष्य सुल्तानले १२ ओभरमा ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । सुल्तानका लागि शान मसुदले ४८ रन जोड्दा जोनसन चार्लीले अविजित ४१ रन बनाए ।
लाहोरका शाहिन अफ्रिदी र डेभिड विजले १/१ विकेट लिए ।
अन्तिम खेलमा नेपालका सन्दीप विकेटविहीन बने । २ ओभर ३ बल बलिङ गरेका सन्दीपले २८ रन खर्चिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४० रन बनाएको थियो । लाहोरका लागि फकर जमानले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५३ रन बनाए ।
यस्तै डेभिड विजले ३० रन तथा एसिला गुणारत्नेले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
मुल्तानका लागि मोहमद अब्बासले ३ तथा साहिद अफ्रिदी २ विकेट लिए । क्रिस ग्रिन र मोहमद इल्यासले समान १/१ विकेट हात पारे ।
योसंगै लाहोर लिग चरणमा अन्तिममा रहदै प्रतियोगिता सकाएको छ । लाहोरले १० खेलमा ६ अंक जोड्यो । सुल्तानले ६ अंक जोडेर पाँचौ स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । दुवै टोली यसअघि नै प्ले अफबाट बाहिरिएका थिए ।