काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा आयोजक झापा-११ लाई ५-३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
योसंगै आर्मीले लगातार दोस्रो पटक झापालाई हराएर उपाधि जितेको छ । झापा भने पुन: उपाधि जित्नबाट बन्चित भएको छ । गत संस्करणको उपाधि आर्मीले झापालाई नै हराएर जितेको थियो ।
उपाधिसंगै आर्मीले १२ लाख ५५ हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको झापाले ६ लाख ५ हजारमा चित्त बुझायो ।
डोमालाल राजवंशी रंगशालामा आर्मीलाई उपाधि दिलाउन सन्तोष तामाङले दुई गोल गरे । यस्तै कप्तान भरत खवास, नवयुग श्रेष्ठ र टेक बुढाथोकीले एक एक गोल गरे । झापाका भिक्टर, फ्रान्सिस र योगेश गुरुङले एक एक गोल फर्काए ।
खेलको २५ औं मिनेटमा सन्तोषले फ्रिकिकबाट आर्मीलाई अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीको अग्रत २-० को बनाए । खेलको ४३ औं मिनेटमा झापाका फ्रान्सिसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए।
पहिलो हाफमा २-१ ले पछि रहेको झापाका लागि योगेशले ५३ औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । तर, खेलको ७६ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीको अग्रता ३-२ को बनाए ।
खेलको ८२ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४-२ को अग्रता दिलाए । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा टंकले गोल गर्दा आर्मी ५-२ ले अघि रह्यो । त्यसपछि खेलको अन्तिम समयमा झापाका भिक्टरले एक गोल फर्काएपनि आर्मी ५-३ ले विजयी हुँदै च्याम्पियन बन्यो ।
यसअघि सेमिफाइनलमा थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको थियो । यस्तै क्यामरुनी क्लब दाउफिन्सलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले झापासंगको भिडन्त पक्का गरेको थियो ।