काठमाडौं । चौंथो संस्करणको झापा गोल्डकप फुटबलको फाइनलमा अहिले आयोजक झापा-११ र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
डोमालाल राजवंशी रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले २-१ को अग्रता बनाएको छ । खेलको २५ औं मिनेटमा सन्तोष तामाङले फ्रिकिकबाट आर्मीलाई अग्रता दिलाएका थिए ।
खेलको ३२ औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीको अग्रत २-० को बनाए । तर, खेलको ४३ औं मिनेटमा झापाका फ्रान्सिसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका छन् ।
आज दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
आयोजक झापा लगातार चौंथो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । आर्मी भने तेस्रो पटक फाइनल खेल्न लागेको हो ।
गत संस्करणको उपाधि आर्मीले झापालाई हराएर जितेको थियो । झापा गत संस्करणको हारको बदला लिने योजनामा रहेको छ ।
पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो ।
यस्तै दोस्रो सेमिफाइनलमा क्यामरुनी क्लब दाउफिन्सलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले झापासंगको फाइनल भिडन्त पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्ने छन् ।